नियम १९
उपस्थिति दर्ता गर्ने तथा ठेगाना परिवर्तनको सूचना दिनु पर्ने

(१) पर्यटक भिसा बाहेक अन्य भिसामा ६ महिना भन्दा बढी अबधिसम्म नेपालमा बस्न पाउने गरी अनुमति प्राप्त गरेका विदेशीहरुले उपस्थिति दर्ता प्रयोजनका लागि अनुसूची–७ (ख) बमोजिमको ढाँचामा विवरण भरी विभाग वा विभागले तोकेको कार्यालयमा बुझाउनु पर्नेछ र अनुसूची– ७ (ग) बमोजिम सो को अभिलेख राखी विभाग वा विभागले तोकेको कार्यालयले निजलाई अनुसूची–७(घ) बमोजिमको
उपस्थिति दर्ता प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ । भिसा अबधि थप भएको अवस्थामा उपस्थिति दर्ता प्रमाणपत्रको नवीकरण समेत गराउनु पर्नेछ ।
(२) भिसा लिन वा भिसाको म्याद थप्नको लागि निवेदनमा उल्लेख गरिएको वा उपस्थिति दर्ता प्रयोजनका लागि बुझाएको विवरणमा उल्लेख भएको नेपालमा वस्ने ठेगाना परिवर्तन गरेमा उपस्थिति दर्ता प्रमाणपत्र लिएका विदेशीले भए विभागमा वा दर्ता प्रमाणपत्र दिने कार्यालयमा र सो वाहेकका अन्य विदेशीले भए विभाग वा कार्यालय वा स्थानीय प्रहरी कार्यालयमा आफ्नो नाम, राहदानी नम्बर र नयां ठेगानाको सूचना दिनु पर्नेछ ।
(३) एक सय वीस दिनभन्दा बढी नेपालमा बसोबास गरेको कुनै विदेशीले नेपालको कुनै स्थानमा तीन दिनभन्दा बढी समय विताउने गरी गएमा आफ्नो नाम, राहदानी नम्बर र ठेगाना समेत खुलेको विवरणसहित त्यस्तो स्थानको स्थानीय प्रहरी कार्यालयमा आफ्नो उपस्थिति दर्ता गराउनु पर्नेछ ।